राष्ट्र बैंकअघि त्रुटि स्वीकार गरेको मुक्तिनाथको समस्या समाधानमा ढिलासुस्ती, ग्राहकको १२ लाख अझै बन्धक

फलोअफ:-
काठमाडौँ । ग्राहकको रकम ठगी गरिएको घटनामा मुक्तिनाथ विकास बैंकले त्रुटि भएको विषय नेपाल राष्ट्र बैंकसँग अप्रत्यक्ष रूपमा स्वीकार गरे पनि समाधानतर्फ भने आनाकानी गर्दै आइरहेको छ । नवलपरासीको गैँडाकोट–५ निवासी ख्याम नारायण पराजुलीले घर निर्माण र व्यवसाय विस्तारका लागि लिएको कर्जामा बैंकले व्यक्तिगत खाताबाट १२ लाख रुपैयाँ बढी रकम काटेको विषय स्वीकार गरेको बैंकले समस्या सामाधान गर्ने तिर भने ढिलाई गरिरहेको हो ।
पराजुलीले २०७० सालमा घर निर्माणका लागि १९ लाख ५० हजार रुपैयाँ कर्जा लिएका थिए भने २०७४ सालमा व्यवसाय विस्तारका लागि थप ४० लाख रुपैयाँ ऋण लिएका थिए । सुरुका वर्षहरूमा नियमित रूपमा किस्ता तिर्दै आएका उनले कोरोना महामारीपछि व्यवसाय प्रभावित हुँदा कर्जा भुक्तानीमा समस्या भोग्नुप¥यो । आर्थिक संकट गहिरिँदै जाँदा उनले अन्ततः आफ्नो सम्पत्ति नै बिक्री गरेर ऋण चुक्ता गर्ने निर्णय गरे । २०७९ साल पुस मसान्तमा उनले बैंकको सम्पूर्ण बक्यौता तिरेर ऋण मुक्त भएको विश्वास गरेका थिए । तर, त्यही समयमा बैंकले उनको व्यक्तिगत खाताबाट १२ लाख रुपैयाँभन्दा बढी रकम अतिरिक्त रूपमा बढी काठ्यो ।
उक्त कटौतीबारे स्पष्ट जानकारी माग्दा बैंकले कुनै ठोस प्रमाण प्रस्तुत गर्न नसकेको पराजुलीको भनाइ छ । उनले आफूले नलिएको कर्जा शीर्षक देखाएर रकम तानिएको आरोप लगाएका छन् । ‘मसँग कुनै कागजात छैन, न मैले त्यस्तो कर्जा लिएको छु, न त्यसमा मेरो हस्ताक्षर छ’ उनले भने, ‘बैंकले कुन आधारमा पैसा काट्यो भन्ने स्पष्ट जवाफ दिन सकेको छैन ।’ यही कारण उनले आफू ठगीमा परेको भन्दै नेपाल राष्ट्र बैंकमा औपचारिक उजुरी दिएका थिए ।
उजुरीपछि राष्ट्र बैंकको गुनासो व्यवस्थापन शाखाले यो विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढायो । बैंकका प्रतिनिधि र पीडित पराजुलीलाई छलफलका लागि बोलाइयो । उक्त छलफलमा बैंकले प्रत्यक्ष रूपमा गल्ती स्वीकार नगरे पनि मेलमिलापको प्रस्ताव राखेको थियो । यस्तो प्रस्ताव आफैंमा बैंकले त्रुटि भएको संकेत दिने आधार मानिन्छ ।
त्यसपछि दुवै पक्ष मेलमिलापमार्फत समाधान खोज्न सहमत भएका थिए । राष्ट्र बैंकले पनि यही प्रक्रियालाई अघि बढाउन निर्देशन दिएको थियो । तर, उक्त सहमति भएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि समस्या समाधानतर्फ कुनै ठोस प्रगति भएको छैन । बैंकले पटक–पटक आश्वासन दिए पनि निर्णय प्रक्रियामा ढिलाइ गर्दै आएको पीडित पक्षको आरोप छ ।
राष्ट्र बैंकसँगको छलफलपछि एक साताभित्रै बैंकका कम्पनी सचिव डण्डपानी ढकालले पराजुलीलाई पुनः छलफलका लागि बोलाएका थिए । सो अवसरमा उनले चार–पाँच दिनभित्र सञ्चालक समितिको बैठकमा विषय राखेर समाधान निकाल्ने आश्वासन दिएका थिए । तर, त्यसयता लामो समय बितिसक्दा पनि बोर्डबाट कुनै निर्णय आउन सकेको छैन ।
बैंकका कम्पनी सचिव ढकालले भने विषय बोर्डसमक्ष पुगेको स्वीकार गरेका छन् । बीमापोष्टसँग कुरा गर्दै उनले भने ‘यो विषयमा बैंकको बोर्डलाई जानकारी छ, तर अहिलेसम्म ठोस निर्णय भइसकेको छैन ।’ यद्यपि, किन निर्णय हुन ढिलाइ भइरहेको छ भन्ने विषयमा उनले स्पष्ट जवाफ दिन सकेनन् ।
यस घटनाले बैंकिङ प्रणालीमा पारदर्शिता र जवाफदेहिताबारे गम्भीर प्रश्न उठाएको छ । ग्राहकको खाताबाट ठूलो रकम कटौती हुँदा त्यसको स्पष्ट आधार र कागजात प्रस्तुत गर्न नसक्नुले बैंकको आन्तरिक प्रणालीमाथि नै शंका उत्पन्न गरेको छ ।
पराजुलीले भने अब कानुनी बाटो जाने बताएका छन् । ‘राष्ट्र बैंकले अध्ययन गरिरहेको छ भनेको छ, म पर्खिरहेको छु’ उनले भने, ‘यदि त्यहाँबाट न्याय पाइएन भने म अदालत जानेछु ।’ आफूले गुमाएको रकम मात्र नभई घटनाले दिएको मानसिक तनाव र आर्थिक क्षतिको पनि क्षतिपूर्ति खोज्ने तयारीमा पराजुली रहेका छन् ।
बैंकिङ क्षेत्रमा विश्वास नै सबैभन्दा ठूलो पूँजी मानिन्छ । तर, मुक्तिनाथ विकास बैंकले भने ग्राहकको मोटो रकम लामो समयदेखि बन्धक राखेर बसेको हो ।
सम्बन्धीत समाचार:












