बादलले दिउँसोमा रात झैँ बनायो बुटवल
६ चैत्र २०८२, शुक्रबार १५:००

काठमाडौँ । रुपन्देहीको बुटवलसहितका क्षेत्रमा आज दिउँसो नै अँध्यारो फैलिएको छ। अचानक घना बादल छाएका कारण बजारमा प्रकाशको कमी भएको छ भने तीव्र हावाहुरीका कारण सडकमा चलिरहेका सवारी साधन रोकिनुपर्ने अवस्था देखिएको छ।
बुटवल बजारमा गुडेका गाडीहरूले दिउँसो नै बत्ती बाल्नु परेको थियो। केही स्थानमा हावाहुरीले सवारी साधनलाई नियन्त्रण गर्न समस्या सिर्जना गरेको थियो।
मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा आज हावाहुरी र वर्षाको संभावना रहेको पूर्वानुमान गरेको थियो। पूर्वानुमान अनुसार नै तीव्र हावाहुरी चलेको र केहीबेरपछि पानी पनि परेको छ।












