राष्ट्र बैंकद्वारा २०८३ सालका लागि बैंक बिदा सूची सार्वजनिक, कुन-कुन दिन बिदा पर्नेछ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको विस्तृत सूची सार्वजनिक गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायसँग सम्बन्धित पर्वहरू समेट्दै बैंकिङ कारोबार समयसम्बन्धी विवरण पनि सार्वजनिक गरेको हो।
राष्ट्र बैंकका अनुसार वैशाख १ गते नयाँ वर्षका अवसरमा देशभर बैंक बिदा रहनेछ। त्यस्तै वैशाख १८ गते बुद्ध जयन्ती तथा किराँत समुदायको उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्राका अवसरमा बिदा दिइनेछ। गाईजात्रा भने काठमाडौं उपत्यका तथा नेवार समुदायमा मात्र लागू हुनेछ।
यसैगरी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, भदौ २९ गते हरितालिका (तीज) व्रतका अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइनेछ भने असोज ३ गते संविधान दिवसका अवसरमा देशभर बैंक बन्द रहनेछ। असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) र असोज १८ गते जितिया पर्व (सम्बन्धित महिला कर्मचारीका लागि मात्र) का दिन पनि बिदा कायम गरिएको छ।
असोज २५ गते घटस्थापनाबाट सुरु हुने बडा दशैंको बिदा असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म कुल ७ दिन रहनेछ। त्यसैगरी तिहार बिदा कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म कुल ५ दिन रहनेछ।
कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीका लागि मात्र), कात्तिक २९ गते छठ पर्व, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (अपाङ्गता भएका कर्मचारीका लागि मात्र), पुस ९ गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि तथा ज्यापु दिवसका अवसरमा पनि बिदा दिइनेछ। पुस १० गते क्रिसमस डे, पुस १५ गते तमू ल्होसार तथा दुरा समुदायको पर्व, र पुस २८ गते पृथ्वी जयन्तीका अवसरमा पनि बैंक बिदा रहनेछ।
त्यसैगरी माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होलीका अवसरमा पनि बैंक बिदा तोकिएको छ।
राष्ट्र बैंकले कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
कात्तिक १६ देखि माघ १५ सम्मको हिउँदे समयमा भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म रहनेछ।
प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ। साथै नेपाल सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस तथा मौद्रिक व्यवस्थापनजस्ता अत्यावश्यक सेवाहरू सीमित कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ।
Holiday-List-2083-Nepali











