गुणस्तरहीन पफ बिक्री गर्दै आइरहेको खजुरीको नेपालको वर्षदिनको व्यापार २ अर्ब, उपभोक्ताको स्वास्थ्यमा जोखिम

काठमाडौँ । नेपाली बजारमा गुणस्तरहीन उत्पादन बेच्दै आएको खजुरीको नेपाल प्राइभेट लिमिटेडले वर्षदिनमा २ अर्बमाथिको व्यापार गरेको छ । गत मंसिरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन पफ बिक्री गरेको भन्दै कारबाही गरेको खजुरीको नेपालले सन् २०२५ मा २ अर्ब ४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत मंसिरमा गरेको अनुगमनमा कम्पनीले स्वास्थ्यका लागि हानिकारक ट्रान्स फ्याट भएको पफ बिक्री वितरण गर्दै प्रमाण फेला पारेको हो । विभागले संकलन गरिएका नमुनाहरूको प्रयोगशालामा परीक्षण गर्दा ट्रान्स फ्याटको मात्रा मानव स्वास्थ्यका लागि खतरनाक २ प्रतिशतभन्दा बढी रहेको देखिएको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार कम्पनीले मापदण्ड पालना नगरेको औंल्याउँदै विभागले यसलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’को सूचीमा राखेको हो ।
आफैले गुणस्तरहीन पफ बिक्री गरेको समेत कम्पनीले स्वीकार गरेको थियो । कम्पनीले विज्ञप्ति जारी गुणस्तरहीन पफ बिक्री गरेको स्वीकार गर्दैै बजारबाट फिर्ता लैजाने भनेको थियो ।
सोहि कम्पनीले सन् २०२१ देखि २०२५ सम्म लगातार व्यापार वृद्धि गरेको तथ्याङ्कमा देखिन्छ । २०२१ मा कम्पनीको व्यापार १ अर्ब २८ करोड ६० लाख रुपैयाँ थियो भने २०२२ मा १ अर्ब ६४ करोड २० लाख, २०२३ मा १ अर्ब ७३ करोड ४० लाख, २०२४ मा १ अर्ब ७० करोड १० लाख पुगेको थियो ।

कम्पनीले गरेको व्यापारमा दुई वटा वस्तुको हिस्सा मात्रै ७८ प्रतिशत रहेको छ । बिस्कुट, पेस्ट्रिज र कुकिजबाट उच्च व्यापार भएको जनाइएको छ तर ती उत्पादनहरूमा समेत उपभोक्ताहरुलाई शंका पैदा भएको छ । खाद्य वस्तु स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्ने तथ्यले बजारमा कम्पनीको छवि ध्वस्त बनाएको छ ।
कम्पनी सन् २००४ मा स्थापित भएको हो । यसको उद्देश्य बिस्कुट, कुकिज र पफ उत्पादन गरी ‘खजुरीको’ ब्रान्ड अन्तर्गत बिक्री वितरण गर्नु हो । कम्पनीको उत्पादन ललितपुर, चितवन र मकवानपुरमा रहेका उद्योगबाट भइरहेको छ ।
कम्पनीमा ६ जनाको स्वामित्व रहेको छ र अध्यक्ष ओमनाथ महर्जनको नेतृत्वमा कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ५० करोड रुपैयाँको रेटिङ पाएको छ । दीर्घकालीन कर्जाका लागि १ अर्ब २६ करोड ९७ लाख र अल्पकालीन कर्जाका लागि २३ करोड ३ लाख रुपैयाँको रेटिङ पाइएको हो । तर वित्तीय दृष्टिकोणले बलियो भएको भए पनि उपभोक्ताको स्वास्थ्य र बजार नियमनमा गरेको अवहेलना कम्पनीको प्रतिष्ठामा ठुलो दाग परेको छ ।












