कपिलवस्तु तनावग्रस्त, मन्दिर तोडफोडपछि भएको प्रदर्शनमा गोली चल्दा ४ जना घाइते

काठमाडौँ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा शनिबार बिहान मुस्लिम समुदायका केही युवाले काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम तोडफोड गरेका छन्। यस घटनापछि विवाद चर्कँदै गएर उग्र रुप लिएको छ।
हिन्दू समुदायका युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन सुरु गरेका थिए। प्रहरीले प्रदर्शन नियन्त्रण गर्न खोज्दा गोली चल्दा ४ जना घाइते भएका छन्। घाइतेमध्ये २३ वर्षीय अरुण यादवको पेटमा गोली लागेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते अरुण यादवलाई थप उपचारका लागि भैरहवाबाट चितवन लगिएको छ भने बाँकी तीन जनाको उपचार भैरहवास्थित मेडिकल कलेजमा भइरहेको छ। प्रदर्शनका क्रममा ७० वर्षीय काशी रैदासको टाउकोमा चोट लागेको छ, तर उनको अवस्था सामान्य छ।
जिल्ला सुरक्षा समितिले शनिबार दिउँसोदेखि लगाएको निषेधाज्ञा अझै जारी रहेको छ। सुरक्षाको दायरा पूर्वमा लवनी, पश्चिममा वर्गदी पुल, उत्तरमा पचेहरा र दक्षिणमा बभनी चौकसम्म बढाइएको छ।












