भारत-चीनले लिपुलेकमा सीमा व्यापार सुरु गर्ने तयारी, नेपाल सरकार अझै बेखबर

काठमाडौँ – नेपालको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार पुनः सुरु गर्न लागेका छन्। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारत सरकारले यसका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिइसकेको छ। सम्भवतः यो व्यापार आगामी जुन महिनादेखि सुरु हुने बताइएको छ।
उत्तराखण्डको पिथौरागढ जिल्लाका अधिकारी आशिष भट्टगाइँका अनुसार सीमा व्यापारको तयारी सुरु भइसकेको छ। भारतीय विदेश मन्त्रालयले पनि यसका लागि अनुमति दिएको छ भने भारतको गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले समेत निर्देशन दिएको छ। तर नेपालको गृह मन्त्रालय र उद्योग मन्त्रालय दुवैलाई यसबारे जानकारी नभएको देखिन्छ।
सीमा व्यापारका लागि आवश्यक मुद्रा सटही, बैंक व्यवस्था र भन्सारसम्बन्धी कार्ययोजना तयार गर्न भारतको विदेश मन्त्रालयले पनि निर्देशन दिइसकेको छ।
नेपालका लागि संवेदनशील विषय भनेको लिपुलेक नेपालको भूभाग हो। भारत र चीनले यसअघि पनि उक्त क्षेत्रलाई दुई देशको व्यापारिक सडक बनाउने सहमति गरेका थिए, जसमा नेपालले कडा विरोध जनाएको थियो।
२०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा हुँदा लिपुलेकलाई व्यापारिक तथा तीर्थयात्री आवतजावतको केन्द्र बनाउने सहमति भएको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले तत्कालै नेपालस्थित भारत र चीनका राजदूतलाई विरोध पत्र पठाएर आपत्ति जनाएका थिए। त्यसबेला नेपालको आपत्ति जनाउँदा भारत–नेपाल सम्बन्धमा असहज स्थिति सिर्जना भएको थियो।
२०७६ कात्तिकमा भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गर्यो। २०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका–१ देखि लिपुलेकसम्म सडक बनाएर उद्घाटन पनि गरियो। नेपालले आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा संसद्ले पूर्ण बहुमतले पारित गर्यो।
चीनले भने हालसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन। २०८० भदौमा जारी गरेको म्यापमा चीनले नेपालको पुरानो नक्सा राखेको थियो। नेपालले त्यसबेला ठोस प्रतिक्रिया देखाएको थिएन।
यसबीच भारत र चीनले लिपुलेकमा सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेसँगै नेपाल सरकार अझै बेखबर र प्रतिक्रियाविहीन देखिएको छ।












