पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः पूर्वसचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर

८ चैत्र २०८२, आईतवार १५:३८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा २१ जना विरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल, प्राधिकरणका अन्य कर्मचारी तथा ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जीनियरिङ र परामर्शदाता इआरएमसी/ए नोट, स्लेट जेभीका प्रतिनिधिहरूसमेतलाई प्रतिवादी बनाएको हो। उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार विमानस्थल निर्माणमा सुपरिवेक्षण परामर्शदाता नियुक्त गर्दा २८ लाख अमेरिकी डलर बराबरको ‘प्रभिजनल सम’ राखिएको भए पनि उक्त रकम प्रयोग नगरी प्राधिकरणकै छुट्टै बजेटबाट ४२ करोड ८९ लाख रुपैयाँ खर्च गरिएको पाइएको छ। यस प्रक्रियाबाट प्राधिकरणलाई कुल ४६ करोड १५ लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग भएको निष्कर्ष अख्तियारको छ।

आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९को दफा १७ अनुसार कारबाही तथा बिगो असुल गर्न माग गरेको छ। आरोपपत्रमा ठेकेदार र परामर्शदाता कम्पनीका प्रमुख व्यक्तिहरूको समेत संलग्नता रहेको उल्लेख गरिएको छ।

FT356B

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*