आठ महिनामा १५ लाखभन्दा बढी स्मार्टफोन भित्रियो, राजस्व ५ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा फागुन मसान्तसम्म नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ। भन्सार विभागका तथ्यांक अनुसार सो अवधिमा कुल १५ लाख २८ हजार ४९५ थान स्मार्टफोन भित्रिएका छन्, जसको मूल्य २९ अर्ब ९३ करोड ५९ लाख ४६ हजार रुपैयाँ छ।
गत वर्षको सोही अवधिमा १४ लाख ७ हजार ७८ थान स्मार्टफोन २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबर भित्रिएका थिए। चालु आवको आठ महिनामा मोबाइल आयातबाट राज्यले ५ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ। फागुन महिनामा मात्रै १ लाख १३ हजार थान मोबाइल आयात भएको तथ्यांक छ।
स्मार्टफोनको माग पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विस्तार, अनलाइन सेवाको बढ्दो प्रयोग र सामाजिक सञ्जालप्रतिको आकर्षणका कारण उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ। ग्रामीण भेगमा इन्टरनेट पहुँच विस्तारसँगै स्मार्टफोनको प्रयोग व्यापक बन्दै गएको छ।
नेपालमा अधिकांश स्मार्टफोन चीन र भारतबाट आयात हुने गरेको छ। यस्तै, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र युएई लगायतका देशबाट पनि स्मार्टफोन भित्राइन्छ।












