कालोपुलमा भाडामा बस्नेको घरबाट २६ तोला सुन चोरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका– ५, कालोपुलमा डेरा गरी बस्ने एकजना व्यक्तिको कोठाबाट सुनचाँदी लगायतका धनमाल चोरेको आरोपमा प्रहरीले शनिबार राति दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन्।
गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामानहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरूलाई चोरीका विभिन्न सामानहरू सहित पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहनाहरू, चाँदीको जस्तो देखिने विभिन्न गरगहनाहरू, खुकुरी १ थान, फलामको रड २ थान, तरबार १ थान, नगद २ लाख ४९ हजार रूपैयाँ र चोरी गर्दा प्रयोग गरिएको स्कूटर १ थान समेत बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












