इरानमाथिको आक्रमण पाँच दिन स्थगित गर्ने ट्रम्पको घोषणा
९ चैत्र २०८२, सोमबार १८:२७

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग मध्यपूर्वमा जारी द्वन्द्वको पूर्ण समाधानका लागि उपयोगी वार्ता भएको बताएका छन्। उनले इरानका ऊर्जा संरचना र विद्युत् उत्पादन केन्द्रमाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच गहिरो, विस्तृत र रचनात्मक वार्ता भएको जानकारी दिएका छन्। उनका अनुसार वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ र आगामी दिनमा पनि छलफल जारी रहनेछ।
उनले रक्षा मन्त्रालयलाई इरानी ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य कारबाही पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका हुन्। ट्रम्पले यो निर्णय वार्ताको सफलतामा निर्भर रहने गरी गरिएको स्पष्ट पारेका छन्।












