सिप्रदी ट्रेडिङद्वारा ट्रक व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सम्मान

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नयाँ नेतृत्वसँग निरन्तर सहकार्य गर्दै यातायात क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता जनाए । उनले बदलिँदो समयसँगै भित्रिएको नयाँ प्रविधि, विशेषगरी बीएस–६ मापदण्डले ल्याएका चुनौतीहरूलाई सामना गर्न चालक तथा व्यवसायीलाई प्राविधिक तालिम र सचेतना आवश्यक रहेकोमा जोड दिए ।
उनका अनुसार सिप्रदीले नेपालका भौगोलिक अवस्था र सडक संरचनालाई ध्यानमा राख्दै आफ्ना सवारी साधनहरूको परीक्षण गरिसकेको छ । साथै, देशभर मर्मत सम्भार सेवालाई सुदृढ बनाउन प्राविधिक जनशक्ति उत्पादन र वर्कसप स्तरोन्नतिमा कम्पनीले तयारी गरिसकेको उनले बताए ।
निजी मेकानिक्सहरूलाई समेत तालिम दिने कार्य अघि बढाइएको उल्लेख गर्दै उनले नयाँ प्रविधिमा सहज अनुकूलनका लागि सबै पक्षबिच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
उनले २० वर्षे सवारी साधन विस्थापन नीतिप्रति पनि प्रश्न उठाउँदै नेपालको सन्दर्भअनुसार व्यावहारिक नीति आवश्यक रहेको बताए । साथै, नयाँ बीएस–६ प्रविधिका सवारी साधनहरूको प्रभावकारी प्रयोगका लागि निजी मेकानिक्सहरूलाई तालिम, देशभर स्तरीय वर्कसप विस्तार र सुलभ दरमा जेनुइन पार्ट्स उपलब्ध गराउन कम्पनीसँग आग्रह गरे ।
कार्यक्रममा टाटा मोटर्सका सवारी साधनले नेपाली बजारमा ओगटेको महत्वपूर्ण हिस्सा, आपूर्ति व्यवस्थामा पुर्याएको योगदान तथा सिप्रदी र महासंघबिचको लामो सहकार्यबारे पनि चर्चा गरिएको थियो । कार्यक्रममा व्यवसायी, सरकार र उपभोक्ताबिचको समन्वयमार्फत नेपालको यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने आवश्यकता औंल्याइएको थियो ।












