जेनजी आन्दोलनमा नेताका घरमा भेटिएको पैसाबारे कानुनसम्मत अनुसन्धान हुनुपर्छ: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भेटिएका पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले भने, ‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ। अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्रै हुनुहुन्न, निष्कर्ष निकालिनुपर्छ।’
जेनजी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो। आन्दोलनकारीले देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा माथि साङ्घातिक आक्रमण गरेका थिए। आगजनीका क्रममा पैसा जलेका भिडिया सार्वजनिक भएका थिए।
कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको थियो र त्यहाँ पनि पैसा जलेका भिडिया सार्वजनिक भएका थिए।
सभापति थापाले अख्तियार दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन हुनुपर्ने जोड दिएका छन्।












