बझाङमा फिल्डमै नभएको काम कागजमा देखाएर रकम निकासा, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा मेशनरी वर्क ह्युम पाइप कलभर्टसहितको संरचना निर्माणका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उक्त योजनामा फिल्डमा नभएको तथा कम काम भएकोलाई बढी देखाई भुक्तानी लिने–दिने कार्य भएको पाइएको छ । यसरी गैरकानुनी रूपमा लाभ पु-याउने तथा हानी पु-याउने कार्यमा संलग्न भएको आरोपमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) तथा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कसुर कायम गरिएको उल्लेख छ । आयोगले प्रतिवादीहरूबाट बिगो रकम ८ लाख ४८ हजार ९६२ रुपैयाँ २२ पैसा कायम गरी सोहीबमोजिम कैद सजाय र जरिवाना असुल उपर गर्न मागदाबी लिएको जनाएको छ ।
IpdRA8











