बर्दियामा प्रहरी र स्थानीयबीच झडप, बन्द सडक खुलाउन हवाई फायर

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–११ स्थित गणेशपुर चोक मंगलबार बिहान तनावग्रस्त बनेको छ। सीमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयवासीले सडक अवरुद्ध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो।
शनिबार ३६ वर्षीय सुरेश खटिक र सोमबार ३३ वर्षीय राम बोहोरन खटिकको एक्कासि मृत्यु भएपछि घटनाले उग्र रूप लिएको स्थानीयले बताएका छन्। मृतक दुवै दाजुभाइ सोही वडाको ओरीपुरका बासिन्दा हुन्। घटनापछि आक्रोशित स्थानीयले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न माग गर्दै बिहानैदेखि सडक बन्द गरी विरोध जनाएका थिए।
वडासँगै जोडिएको भारतीय सीमावर्ती बजार लौकाही बजार मा नेपाली युवाहरूले ‘कोरेक्स’ नामक लागूऔषध सेवन गर्ने गरेको पाइएको छ। भारतीय प्रहरीले त्यस्ता औषधि बिक्री गर्ने पसलहरू बन्द गराएपछि त्यहाँका केही व्यवसायीले विषादी मिसाएर बनाइने घरेलु प्रकारका लागूऔषध बिक्री गर्न थालेको र सोही सेवनका कारण दुवै दाजुभाइको मृत्यु भएको स्थानीयको आरोप छ।
खुला सीमाका कारण नेपालीहरूको आवागमन अत्यधिक हुने उक्त क्षेत्रमा पछिल्लो समय लागूऔषध दुरुपयोग बढ्दै गएको भन्दै स्थानीयले सीमा बन्द वा कडाइका साथ व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। सोही मागसहित गणेशपुर बजार क्षेत्रमा सडक अवरुद्ध गरिएको छ ।
सडक खुलाउने क्रममा आक्रोशित समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी प्रतिरक्षामा उत्रिएको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार झडपका क्रममा प्रहरीले १० राउण्ड हवाई फायर र ४ सेल अश्रुग्यास प्रहार गरेको छ।
घटनामा ७ जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी गरी १३ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। झडपमा ६ जना स्थानीय घाइते भएका छन् भने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।












