८० लाख ठगी गरेर फरार भएकी राधिका बस्नेत काठमाडौँबाट पक्राउ

१० चैत्र २०८२, मंगलवार १७:०६

काठमाडौँ । बैंकिङ कसूरसम्बन्धी विभिन्न मुद्दामा फरार रहँदै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राधिका बस्नेतलाई मंगलबार काठमाडौँ महानगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो।

बैंकिङ कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त भएपछि लामो समयदेखि फरार रहेकी उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–४ बस्दै आएकी ३७ वर्षीया बस्नेतविरुद्ध विभिन्न निकायमा बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी कसूरका नौ वटा मुद्दा दर्ता रहेको अभिलेखमा उल्लेख छ।

प्रहरीका अनुसार बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त सिंहदरबारमा बैंकिङ कसूरका सात वटा मुद्दा दर्ता छन्। यस्तै, वैदेशिक रोजगार विभाग, ताहाचलमा वैदेशिक रोजगारसम्बन्धी कसूरका दुई वटा मुद्दा दर्ता रहेका छन्।

ती सबै मुद्दामा गरी कुल ८० लाख १५ हजार ५०० रुपैयाँ बिगो दाबी गरिएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*