रुकुम–पूर्वको दुर्गम बस्तीमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

१० चैत्र २०८२, मंगलवार १८:०३

काठमाडौं । रुकुम–पूर्वको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मंगलबार चण्डी दल गण रुकुम–पश्चिमले पुथा उत्तरगंगा गाउँपालिका(२ को पेल्मा गाउँमा शिविर सम्पन्न गरेको हो ।

विपन्न सर्वसाधारणलाई लक्षित गरेर नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरमार्फत प्रभावकारी सेवा प्रदान गरेको छ । निस्शुल्क स्वास्थ्य शिविरबाट दुई सय २४ सर्वसाधारणले सेवा पाएका छन् । सेवा पाउनेहरूमा एक सय ४५ जना महिला र ७९ जना पुरुष रहेका छन् । जसमध्य ५५ जना बालालिकासमेत छन् ।

चण्डीदल गणका गणपति प्रमुख सेनानी विनिश श्रेष्ठका अनुसार सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने र ग्रामीण क्षेत्रमा आर्थिक तथा भौगोलिक रूपले पछाडि परेका गरीब तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको हो ।

उनले शिविरबाट नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको जानकारी दिए । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, साझा मुराल अस्पताल प्रालि रुकुम–पश्चिम, रुकुम–पूर्व जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय र पुथा उत्तरगंगा गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न गरेको जनाएको छ ।

गाउँमै पहिलो पटक शिविरमार्फत निःशुल्क सेवा पाउँदा स्थानीयहरू खुसी भएका छन् । पेल्मामा रहेको नमुना आमा समूहका अध्यक्ष जोगमाया पुनले दुर्गम गाउँमै दक्ष चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको भन्दै खुशी व्यक्त गरे ।

आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोगको शिकार भईरहेका जनताले गाउँमै सेवा पाउँदा उनी खुशी थिइन् । निःशुल्क स्वास्थ्य जाँच, परामर्श र औषधिसमेतको व्यवस्थाबाट सर्वसाधारणहरूमा ठूलो राहत भएको उनको भनाइ छ । यो क्षेत्रमा यातायात सुविधा समेत नहुँदा सर्वसाधरणले सहज स्वाथ्य सेवा पाउन मुश्किल रहेको जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*