जीवन बीमा कम्पनीहरुको व्यवसाय १४% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा एक खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १४.७३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कम्पनीहरुले आफ्नो बीमा व्यवसायलाई उल्लेख्य मात्रामा बृद्धि गराएका छन् ।
कुल बीमा शुल्क आर्जनको आधारमान नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा, आइएमई लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.१७ प्रतिशतले बृद्धि गर्दै ३२ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ पुगाउँन सफल भएको छ ।
दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा १०.०८ प्रतिशतले बढाएर १५ अर्ब २१ लाख रुपैयाँ र एलआइसी नेपालले ७.१६ प्रतिशतले बढाएर १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ पुर्याएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ४.४० प्रतिशतले बृद्धि भई ११ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ९५.१९ प्रतिशतले बृद्धि भई आठ अर्ब ७४ करोड रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११.११ प्रतिशतले बृद्धि भई सात अर्ब ४३ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सको १२.०५ प्रतिशतले बृद्धि भई छ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १८.६१ प्रतिशतले बढेर पाँच अर्ब ३२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १०.९५ प्रतिशतले बढेर चार अर्ब ७६ करोड रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ३०.३५ प्रतिशतले बढेर चार अर्ब २८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
साथै, मेट लाइफ नेपालको ९.५५ प्रतिशतले बढेर चार अर्ब २५ करोड १६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २३.०८ प्रतिशतले बढेर तीन अर्ब ९० करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १४.७० प्रतिशतले बढेर तीन अर्ब ६६ करोड ७७ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ३.६७ प्रतिशतले बढेर दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ ।












