नक्कली सुन थमाएर १४ लाख ठग्ने व्यक्ति पक्राउ

१२ चैत्र २०८२, बिहीबार ११:५४

काठमाडौं । सोझासाझालाई नक्कली सुन थमाएर रकम ठगी गरेको आरोपमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धर बिर वाईबालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

उनले सोझासाझा, बुढापाका र भद्रभलाद्मीलाई नक्कली सुनको बिस्कुट जस्तो धातु देखाएर आफूलाई रकमको एकदमै आवश्यकता परेको भन्दै ललाई फकाई नक्कली सुन थमाएर रकम लिएर फरार हुने गरेको पाइएको छ। पीडितलाई नक्कली सुन थमाएर पैसा लिएर फरार भएपछि पीडितले उक्त सुन साट्न जाँदा नक्कली भएको थाहा पाएपछि प्रहरीमा उजूरी दिएका थिए। उजूरीपछि प्रहरीले खोजतलास बढाएको थियो।

यसै क्रममा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिवमन्दिरस्थित एक होटलबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट ५६७ ग्राम र ६९० ग्राम तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान लगायतका सामान पनि बरामद गरेको छ। प्रहरीले मोक्तानलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन हिरासतमा राख्न म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*