कुमारी बैंकको मास्टरकार्ड सेवा सुरु

काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ । बैंकले बिहीबार (आज) एक कार्यक्रमबीच मास्टरकार्ड सेवाको औपचारिक रूपमा सुरु गरेको हो । यसअघि बैंकले भिजाकार्ड प्रयोगमा ल्याइरहेको भए तापनि ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाको रूपमा मास्टरकार्ड सेवा सुरु गरेको जनाएको छ ।
मास्टरकार्डको अन्तर्राष्ट्रिस्तरमा ठूलो ब्राण्ड भएको हुँदा यसले ग्राहकलाई सेवा छनोटको अवसर प्रदान गर्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले बताए । साथै उनले विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् ।
सीईओ कँडेलका अनुसार यो कार्ड नेपाल र भारत दुवै ठाउँमा अनलाइन भुक्तानी र पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ । बैंकले हाल नयाँ क्याम्पेनअन्तर्गत पहिलो वर्षका लागि वार्षिक शुल्क निःशुल्क गरेको छ ।
सामान्यतया यसको शुल्क वार्षिक ५०० रुपैयाँ हुने सीईओ कँडेलले बताए । उनका अनुसार एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क र कारोबारको सीमाको हकमा नेपाल राष्ट्र बैंकले तोकेको नियम नै लागु हुनेछ । राष्ट्र बैंकको निर्देशनअनुसार एक व्यक्तिले एउटै बैंकबाट दुईवटा डेबिट कार्ड ९अर्थात् भिजा र मास्टरकार्ड दुवै० लिन पाउँदैनन् । त्यसैले ग्राहकले यी दुईमध्ये कुनै एउटा मात्र रोज्नुपर्ने हुन्छ ।












