आज बालेन प्रधानमन्त्री बन्दै, शीतल निवासमा १२ बजेर ३४ मिनेटमा शपथ

काठमाडौं । भदौमा भएको जेनजी विद्रोहले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार अपदस्थ गरेपछि मुलुकले आज पुनः जननिर्वाचित प्रधानमन्त्री पाउने भएको छ।
विद्रोहको बलमा तत्कालीन प्रधानमन्त्री ओली सत्ताच्यूत भएपछि सुशीला कार्की नेतृत्वको गैरदलीय चुनावी सरकार गठन भएको थियो। सुशीला कार्की नेतृत्वको सरकारले निर्धारित मिति फागुन २१ गते देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकी थिइन्।
निर्वाचनमा बालेनलाई प्रधानमन्त्री घोषित गरेको रास्वपाले १८२ सीटको बहुमत हासिल गरेको छ। बालेनलाई प्रधानमन्त्री बनाउने सम्झौता अनुरूप हिजो चैत १२ गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बोलनलाई आफ्नो संसदीय दलको नेता चय गरिसकेको हुनाले बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो।
बालेन शाहले आज दिउँसो १२ बजेर ३४ मिनेटमा राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिंदैछन्। शपथ लिइसकेपछि दिउँसो करीब सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन्।
बालेनको शपथ समारोह भने पहिलेको भन्दा फरक हुने भएको छ। समारोहमा ७ वटा शंखनाद, १०८ बटुकबाट स्वस्ती वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी रहेको छ। संविधान अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले राष्ट्रपति समक्ष शपथ लिने व्यवस्था रहेको छ।












