आज र भोलि वर्षा, हिमपात र हुरीको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भागमा बदली भई वर्षा, हिमपात, चट्याङ र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल सुदूरपश्चिम प्रदेशसहित पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका हिमाली क्षेत्रमा अधिकांश बदली भई पहाडी भू–भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
आज राति पनि देशका हिमाली भू–भागमा अधिकांश बदली रहनेछ भने कोशी, मधेशसहित पहाडी भागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भागमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सम्भावित वर्षा, हिमपात, चट्याङ, असिना र हुरीका कारण सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।












