जेनजी आन्दोलनको भावना बमोजिम परिवर्तको पक्षमा स्पष्ट जनादेशः सुशीला कार्की

१३ चैत्र २०८२, शुक्रबार ०७:५५

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विदाई लिंदै गर्दा राष्ट्रको नाममा सम्बोधन गरेकी छन्। सम्बोधनको क्रममा निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावना बमोजिम परिवर्तनको पक्षमा स्पष्ट जनादेश आएको बताएकी हुन्।

जेनजी आन्दोलनको शहीद र घाइतेलाई सम्झिदै शुरू गरिएको सम्बोधनमा उनले हामी फेरि उठ्नेछौं भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न आह्वान गरेकी छन्। भदौ २७ गते जिम्मेवारी सम्हाल्दै गर्दा मनमा डर र अनिश्चय भए तापनि संकटको बेला आशाको दियो बाल्न सकिने आत्मविश्वास जुटाएर अघि बढेको बताएकी छन्।

उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, सेना, प्रहरी, राजनीतिक दल, सरकारी कर्मचारीदेखि मतदाता सबैलाई धन्यवाद ज्ञापन गरेकी छन्। “यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ– निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ। र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौं।”

अघि बोल्दै उनले भनिन्, “ यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको छ। यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ।”

नवनिर्वाचित सांसदलाई बधाई दिंदै उनले नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जजना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्ने विश्वास लिएको बताएकी छन्। “छ महीने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौं।”

“जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्‍यौं। परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरुमा मुद्दा अघि बढाएका छन्। ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ।” उनले भनिन्।

आन्दोलनको क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाट लगायतको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी सिफारिस र सुझावको सन्दर्भमा नयाँ सरकारले आवश्यक कदम चाल्ने बताइन्। “ अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु– जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ।” उनले अन्त्यमा भनिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*