कर्मचारी सञ्चय कोषको ५ अर्ब ३० करोड मुनाफा वितरण

१३ चैत्र २०८२, शुक्रबार १०:२६

काठमाडौं । कर्मचारी सञ्चय कोष ले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल मुनाफामध्ये ५ अर्ब ३० करोड रुपैयाँ सञ्चयकर्ता तथा योगदानकर्तालाई वितरण गरेको छ। कोषका अनुसार सञ्चयकर्ताको खातामा करिब ५ अर्ब १९ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको हो।

कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताको व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुनाफा रकम खातामा जम्मा गरिएको हो।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गर्ने कुल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खातामा वितरण गर्दै आएको छ भने बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने व्यवस्था रहेको छ। यस्ता कोषमा संचित रकम आवश्यकता अनुसार सञ्चयकर्ता तथा योगदानकर्ताको हितमा खर्च हुने गरेको कोषले जनाएको छ।

यसैबीच, कोषले चालु आर्थिक वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशत ब्याजदर उपलब्ध गराएको छ। साथै सञ्चित रकमको सुरक्षणमा ५.७५ प्रतिशत ब्याजदरमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी सुविधा प्रदान गर्दै आएको छ।

कोषले आफ्ना सदस्यहरूको सेवाकालीन आवश्यकता सम्बोधन गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी तथा जग्गा खरिद सापटीजस्ता विभिन्न ऋण सुविधा सञ्चालनमा राखेको छ।

यसका अतिरिक्त, सञ्चयकर्ता तथा योगदानकर्ताले छुट्टै योगदान गर्नुपर्ने व्यवस्था बिना नै कोषले आफ्नै स्रोतबाट स्वास्थ्योपचार सोधभर्ना, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्र सुत्केरी तथा शिशु स्याहार सुविधाबापत १९ हजार १११ जना लाभग्राहीलाई करिब १४ करोड ३४ लाख रुपैयाँ वितरण गरिएको छ भने काजकिरिया अनुदानअन्तर्गत ६०५ जनालाई करिब २ करोड ४२ लाख रुपैयाँ प्रदान गरिएको छ। त्यसैगरी दुर्घटना क्षतिपूर्तिबापत १७० जनालाई करिब ३ करोड ३९ लाख रुपैयाँ, स्वास्थ्योपचार सोधभर्नाबापत ५ हजार ३५५ जनालाई ३४ करोड रुपैयाँ तथा विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका १७२ जनालाई करिब १ करोड ७३ लाख रुपैयाँ वितरण गरिएको कोषले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*