को हुन् गृहमन्त्री बनेका सुधन गुरुङ?

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिमण्डमा सुधन गुरुङ गृहमन्त्रीमा नियुक्त भएका छन्। उनी गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बनी निर्वाचित भएका हुन्।
राजनीतिक पारिवारिक पृष्ठभूमि भएका सुधन गुरुङ ३८ वर्षका हुन्। उनको स्थायी ठेगाना गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङ गाउँ हो।
सुधन गुरुङले “हामी नेपाल” नामक संस्था स्थापना गरेर सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका थिए। विशेष गरी २०७२ सालको भुइँचालोले देश कष्टकर अवस्थाबाट गुज्रिरहेको बेला उनी डटेर राहत तथा उद्धारको क्षेत्रमा लागेका थिए।
सुधन गुरुङ जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका पात्र हुन्। उनको समूहले भदौ २३ गतेको आन्दोलनमा सहभागी भएकाहरूलाई पानी वितरण गरिरहेको देखिन्छ। साथै उनले ब्यानरहरू बनाउने र घाइतेको उपचारका लागि एम्बुलेन्स आदिको व्यवस्था पनि गरेको बताएका छन्।
जेनजी आन्दोलनको बलमा तत्कालीन केपी शर्मा ओली सरकार पदच्यूत भएपछि सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन र सेना तथा राष्ट्रपतिसँग समन्वय गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले बालेन शाह र रवि लामिछानेलाई एक ठाउँमा उभ्याउन पनि निकै ठूलो भूमिका खेलेका थिए। बालेनले सुधन गुरुङको तस्बीर सामाजिक सञ्जालमा राख्दै उनको प्रशंसा समेत गरेका थिए। उनले कुलमान घिसिङलाई पनि रास्वपामा आवद्ध गराएका थिए यद्यपि कुलमान घिसिङ भने रास्वपामा रहिरहन सकेनन्।
उनले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न नसकेको भनेर निकै तीखो आलोचना समेत गरेका थिए। अन्तरिम सरकारका गृहमन्त्रीलाई दबाब दिने गरेका उनी अहिले आफैं गृहमन्त्री बनेका छन्। यसलाई नागरिक जगतमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनले सांसद निर्वाचित भए लगत्तै ठाउँठाउँमा पुगेर त्यहाँका कर्मचारीहरूलाई निर्देशन समेत दिने गरेका छन्।












