छानबिन हुँदाहुँदै देउवा निवास भत्काउने प्रयास, अन्ततः प्रहरीले रोक्यो

१५ चैत्र २०८२, आईतवार १३:०६

काठमाडौं । गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासमा जलेको अकुत सम्पत्ति छानबिन हुँदाहुँदै घर भत्काउने प्रयासमा अन्ततः रोक लागेको छ।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारले ब्यापक दमन गरेपछि त्यसको विरोधमा भोलिपल्ट भएको देशव्यापी आन्दोलनमा कैयौं नेताका घर, पार्टी कार्यालय, राजनीतिज्ञ र नेतासँग साँठगाँठ जोडिएको व्यापारी र विद्यालय समेतमा आगजनी भएको थियो। सोही सिलसिलामा आन्दोलनकारीहरूले देउवा निवासमै प्रवेश गरेर शुरूमा देउवा दम्पत्तिलाई भौतिक आक्रमण गरेका थिए। देउवालाई प्रहरीले बचाएर हेलिकप्टर मार्फत उद्धार गरेपनि आक्रोशित आन्दोलनकारीले देउवा निवास जलाएर ध्वस्तै बनाइदिएका थिए।

देउवा निवासमा आगो लाग्दै गर्दा उक्त घरबाट अनगिन्ती संख्यामा नेपाली १०० र ५०० दरका रुपैयाँका साथै अमेरिक डलर समेत उड्न थालेपछि त्यहाँ देउवा दम्पत्तिले अकुत सम्पत्ति लुकाएर राखेको भन्दै छानबिनको लागि तीव्र माग उठेको थियो। त्यतिबेला जलेको देउवा निवसमा दैनिकजसो मान्छेहरू पैसा र सुन खोज्न जाने गरेका थिए। छानबिनको लागि चौतर्फी माग उठेपछि अन्ततः सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर जलेका पैसाको प्रमाण संकलन गरेर लगेको थियो।

देउवा निवासमा जलेको पैसाको विषयमा अनुसन्धान हुँदाहुँदै देउवा दम्पत्तिले भने प्रमाण नष्ट गर्न घर नै भत्काउन थालेका थिए। बालेन नेतृत्वमा सरकार बनेलगत्तै जिल्ला प्रशासन कार्यालयले देउवा निवास भत्काउन रोक लगाएको छ। शेर बहादुर देउवाकी श्रीमती आरजू राणाको नाम नक्कली भुटानी शरणार्थी काण्डमा समेत मुछिएको छ। यसबीच देउवा दम्पत्तिकै सम्पत्ति छानबिन हुनु पर्ने माग उठिरहँदा पैसा जलेको प्रमाण समेत नष्ट गर्न घर भत्काउन थालेपछि अन्ततः प्रहरीले रोकेको हो।

देउवा र उनकी पत्नीमाथि नै हाल सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। उनको निवासमा कति पैसा जल्यो भन्ने यकिन छैन तर कम्तीमा पनि करौडौंको अकूत सम्पत्ति जलेको अनुमान गरिएको छ। देउवा दम्पत्तिले भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी परेको छ। यस्तोमा पैसा जलेको अवस्थामा भेटिएको घर नै भत्काएर प्रमाण नष्ट गर्ने कार्य भइरहेको थियो।

त्यस्तै पूर्व ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि भदौ २४ गते आन्दोलनकारीले आगो लगाउँदा देउवा निवासकै जस्तै गरी घरबाट असंख्य पैसा उडेको थियो। दीपक खड्काले ऊर्जा मन्त्री बन्दा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको भनेर उजूरी परेपछि उनीमाथि पनि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो। दीपक खड्कालाई भने आज बिहानै प्रहरीले सम्पत्ति शुद्धीकरणको कसूरमा पक्राउ गरिसकेको छ। हाल देउवा दम्पत्ति दुवैजना उपचारको लागि भन्दै हङकङमा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*