सांसदहरुलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाण्डौ । संघीय संसद् सचिवालयले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आगामी जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, सांसदहरूले सो मितिभित्र कार्यालय समयभित्रै सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण दर्ता गराउनुपर्नेछ ।
यो व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी कानुनी प्रावधानअनुसार सार्वजनिक पदधारीले पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्तिको स्रोतसहित विवरण बुझाउनुपर्ने बाध्यतासँग सम्बन्धित हो ।
नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएकाले सो मितिदेखि ६० दिन पूरा हुने समयसीमा जेठ १० गते पर्ने हुँदा त्यसभित्रै विवरण बुझाउन भनिएको हो ।












