नयाँ सरकारको कदमले उद्योग परिसंघ उत्साहित, भन्यो: ‘ब्यवसायी वातावरण तयार भयो’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा पुराना ऐन खारेज गर्ने तथा नीतिगत सुधार गर्ने प्रतिबद्धता सार्वजनिक गरेपछि नेपाल उद्योग परिसंघ (सीएनआई) ले यस कदमलाई स्वागत गरेको छ। परिसंघका अनुसार नवगठित सरकारले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरुको सुझाव कार्यान्वयनमा प्राथमिकता राखेको देखिन्छ भने सुशासन कायम राख्ने र भ्रष्टाचार अन्त्य गर्ने आम चाहनामा सरकार प्रतिवद्ध रहेको विश्वास गरिएको छ।
परिसंघले विगतमा सुझाउँदै आएको विदेशमा लगानी प्रतिबन्ध, क्षतिपूर्ती ऐन, कालोबजार तथा सामाजिक अपराध सम्बन्धी केही ऐन, नेपाल एजेन्सी ऐन खारेज गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको जनाएको छ। साथै राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय पनि परिसंघले सराहना गरेको छ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, एकद्वार र अन्तरआवद्ध प्रणालीमा रूपान्तरण गर्ने, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने, ठूला राष्ट्रिय रणनीतिक आयोजनाहरू कार्यान्वयनमा समयबद्धता र गुणस्तर सुनिश्चित गर्ने लगायतका विषयमा प्राथमिकता दिएको छ। यसमा जग्गा प्राप्ति, मुआब्जा निर्धारण, रुख कटान, वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृति प्रक्रियालाई फास्ट ट्रयाकमा ल्याउने र सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण डिजिटल, पारदर्शी र ट्रयाकिङ योग्य बनाउने समावेश छन्।
उद्योग, व्यापारिक केन्द्र, बैंकिङ पूर्वाधार तथा आपूर्ति शृङ्खलाको सुरक्षा सुनिश्चित गर्न उच्च सतर्कता अपनाउने, निजी क्षेत्रसँग संवाद कायम राख्न प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उद्योग–वाणिज्य सम्वाद परिषद्लाई सक्रिय बनाउने, कर प्रशासन स्वचालित गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, करदातालाई सरल सेवा उपलब्ध गराउने, प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने र नेपाललाई आरोग्य पर्यटन हब बनाउने रणनीति कार्यान्वयन गर्ने विषयहरूलाई पनि सरकारले प्राथमिकता दिएको छ।
नेपाल उद्योग परिसंघले सबै राजनीतिक दलहरूलाई आर्थिक एजेण्डालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिँदै आएको छ। यसै सन्दर्भमा सरकारले निर्वाचनमा सहभागी दलका घोषणापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयनयोग्य विषयहरूको संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने बताएका छन्। परिसंघले राष्ट्रिय प्रतिबद्धता समग्र आर्थिक विकासमा केन्द्रित हुने अपेक्षा गरेको छ।
परिसंघले यसअघि पनि तथ्य र अनुसन्धानमा आधारित नीतिगत सुझाव सरकार र नियामक निकायहरूलाई दिँदै आएको छ भने वर्तमान सरकारले पनि समग्र अर्थतन्त्र केन्द्रमा राखेर नीतिगत सुधारमा ध्यान दिने विश्वास लिएको छ।
नेपाल उद्योग परिसंघले प्रधानमन्त्री बालेन्द्र शाहको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मुलुकमा थप लगानी, रोजगारी सिर्जना, उत्पादमूलक उद्योगको स्थापना र आर्थिक विकासमा नयाँ दिशा तय हुने आशा व्यक्त गरेको छ।












