लेबनानको यूनिफिल पोस्टमा आक्रमणः एक शान्ति सैनिकको मृत्यु, अर्का गम्भीर घाइते

१६ चैत्र २०८२, सोमबार ०७:५४

काठमाडौं । दक्षिणी लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति मिसन (यूनिफिल) को एक सैन्य पोस्टमा भएको विस्फोटमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक गम्भीर घाइते भएका छन्। यूनिफिलले सोमबार सार्वजनिक गरेको विवरणअनुसार मार्च २९ मा अदचित अल–कुसायर नजिक रहेको मिसनको पोस्टमा एउटा प्रोजेक्टाइल विस्फोट भएको थियो।

यूनिफिलका अनुसार विस्फोट गराउने प्रोजेक्टाइल कहाँबाट प्रहार गरिएको हो र त्यसका लागि कुन पक्ष जिम्मेवार हो भन्ने विषय तत्काल स्पष्ट हुन सकेको छैन। घटनापछि शान्ति मिसनले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। शान्ति मिसनले युद्धग्रस्त क्षेत्रमा कार्यरत राष्ट्रसंघीय कर्मचारीमाथि हुने यस्ता आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत हुने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

घटना भएको क्षेत्र इजरायल–लेबनान सीमावर्ती दक्षिणी भूभाग हो जहाँ पछिल्लो समय इजरायल र इरान समर्थित हिजबुल्लाहबीच तनाव तथा सशस्त्र गतिविधि तीव्र बन्दै गएको छ। सोही क्षेत्रको निगरानी तथा युद्धविरामसम्बन्धी व्यवस्थाको अनुगमन गर्ने जिम्मेवारी यूनिफिलले वहन गर्दै आएको छ।

पछिल्ला महिनाहरूमा यूनिफिलका शान्ति सैनिकहरू बारम्बार जोखिममा पर्दै आएका छन्। यसअघि मार्च ६ मा पनि दक्षिणपश्चिमी लेबनानको अल–कावजाह क्षेत्रमा रहेको यूनिफिल आधार शिविरमा प्रहार हुँदा तीन जना शान्ति सैनिक घाइते भएका थिए जसमध्ये एक जनालाई उपचारका लागि बेरुत पठाइएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*