कर्मचारीलाई घुस नखुवाउन निर्माण व्यवसायी महासंघको सर्कुलर

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरूलाई सरकारी कर्मचारीहरूलाई कुनै पनि प्रकारको अतिरिक्त शुल्क वा घुस नदिन सर्कुलर जारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको छलफलपछि महासंघले सो निर्देशन जारी गरेको हो ।
महासंघका महासचिव रोशन दाहालले जारी गरेको पत्रमा उल्लेख छ, ‘समयमै गुणस्तरीय निर्माणकार्यमा अवरोध सिर्जना हुने गरी पूर्वाधार विकासको क्षेत्रमा व्यापक रुपमा आर्थिक अनियमितता हुने गरेको जनगुनासो आएको सन्दर्भमा अबका दिनमा निर्माण व्यवसायीहरूलाई निर्माणाधिन आयोजनाका सन्दर्भमा कुनै पनि तह र तप्काका सरकारी अधिकारीहरूलाई अतिरिक्ति शुल्क नदिनु ।’
कुनै सरकारी अधिकारीले शुल्क वा घुस मागेमा तत्काल प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउन र सिधै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई जानकारी गराउन निर्माण व्यवसायीहरूलाई अनुरोध गरिएको छ।












