जुम्लाको विद्यालयमा छात्रवृत्ति घोटालाः कीर्ते भरपाई बनाएर भ्रष्टाचार गर्ने प्रधानाध्यापकसहित ३ विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित गणेश माध्यमिक विद्यालयमा छात्रवृत्ति र दिवाखाजा रकम हिनामिना भएको प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई र लेखा सहायक कृष्ण कामीले मिलेमतोमा छात्रवृत्ति रकम हिनामिना गरेका हुन्। उनीहरूले आर्थिक वर्ष २०७९/०८० मा प्राप्त रु. १ लाख ४५ हजार ३५० छात्रवृत्ति रकम सम्बन्धित छात्रालाई वितरण नगरी झुट्टा कागजात तयार पारेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा विद्यालयले २०८० चैत २१ गते छात्रवृत्ति वितरण गरेको भनी पेश गरेको भरपाईमा मिति केरमेट गरी सच्याइएको पाइएको थियो। साथै सोही विवरण पहिले असोज २१ गते पेश गरिएको भरपाईसँग मिलेको देखिएको थियो। आयोगले स्थलगत रूपमा विद्यार्थीहरूसँग बुझ्दा उक्त रकम वास्तविक रूपमा वितरण नभएको पुष्टि भएको जनाएको छ।
आयोगका अनुसार प्रतिवादीहरूले पहिलेको भरपाईलाई पुनः किर्ते गरी मिति परिवर्तन गरेर नयाँ झुट्टा कागजात तयार पारेका थिए। यसरी सार्वजनिक रकम दुरुपयोग गरी तातोपानी गाउँपालिका तथा विद्यालयलाई गैरकानुनी हानि पुर्याउने र आफूहरूलाई लाभ लिन खोजिएको ठहर गरिएको छ।
उक्त कसुरमा उनीहरूमाथि रु. १ लाख ४५ हजार ३५० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा जरिवानासहित बिगो असुल उपर गर्न मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।











