आज महावीर जैनको जन्मजयन्ती मनाइँदै

काठमाडौं । जैन धर्मका २४औं तीर्थंकर महावीर जैनको २६२५औं जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन मनाइँने यो पर्वका अवसरमा नेपाल, भारतलगायत विश्वभरका जैन समुदायले पूजा, प्रवचन, शोभायात्रा, दान तथा सेवामूलक कार्यक्रम आयोजना गरिन्छ।
स्वामी महावीर जैनलाई जैन धर्मका प्रमुख प्रवर्तकमध्ये एक मानिन्छ। उनले सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यजस्ता सिद्धान्त मार्फत मानव जीवनलाई नैतिक, अनुशासित र शान्तिपूर्ण बनाउने सन्देश दिएका थिए। जैन धर्मावलम्बीहरूले उनको शिक्षालाई आत्मसंयम, करुणा र सहअस्तित्वको आधारका रूपमा लिने गरेका छन्।
जन्मजयन्तीका अवसरमा आज विभिन्न जैन मन्दिर तथा धार्मिक स्थलमा विशेष पूजा–आराधना, धार्मिक प्रवचन र परोपकारी कार्यक्रम सञ्चालन गरिन्छ। आजको दिन महावीर जैनले प्रतिपादन गरेका मानवीय मूल्य, सहिष्णुता र अहिंसाको सन्देशलाई स्मरण गर्दै भक्तिभावका साथ यो पर्व मनाइन्छ।











