सोपान फर्मास्युटिकल्सले वैशाख २ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

१८ चैत्र २०८२, बुधबार ०७:३१

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड गरेको हो।

कम्पनीले त्यसपछि २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख ६ गते रहेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*