बालेन सरकार आएपछि अमेरिकाद्वारा ‘ट्राभल एड्भाइजरी’मा कटौती

१८ चैत्र २०८२, बुधबार १४:०२

काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकका लागि नेपाल भ्रमण सम्बन्धी जारी गरेको ‘ट्राभल एड्भाइजरी’ (यात्रा सुझाव) को जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको सरकार आएपछि मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनामा नेपालमा सुरक्षा स्थिति सुधार भएको उल्लेख गर्दै जोखिम स्तर लेभल २ (अतिरिक्त सतर्कता आवश्यक) मा झारिएको छ।

अमेरिकी विदेश मन्त्रालयको सूचनामा भनिएको छ कि सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले स्थगित भएका छन् र समग्र सुरक्षा अवस्था स्थिर रहेको छ। यद्यपि, विशेषगरी शहर क्षेत्रमा अचानक प्रदर्शन वा स्थानीय अशान्तिहरू हुनसक्ने र ती हिंसात्मक बन्न सक्ने सम्भावना अझै कायम रहेको उल्लेख गरिएको छ। अमेरिकी नागरिकहरूलाई ठूला भिडभाडबाट टाढा रहन र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न सचेत गराइएको छ।

स्वास्थ्य सेवा सम्बन्धमा भने नेपालको आपतकालीन र सामान्य चिकित्सा सेवा सीमित क्षमता भएको सूचनामा उल्लेख छ। काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रको तुलनामा राम्रो भए पनि बिरामीको चाप बढी हुने, केही उपकरण र औषधि अभाव हुने र उपचार अघि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिइएको छ। विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले बेहोर्ने व्यवस्था नभएकोले आफ्ना लागि आवश्यक औषधि आफैं बोकेर आउन र गम्भीर अवस्थाका लागि विदेश जानुपर्ने सम्भावनामा मेडिकल इभ्याकुएसन (हवाई उद्धार) बीमा गराउन सुझाव दिइएको छ।

अमेरिकी ट्राभल एड्भाइजरीले प्राकृतिक प्रकोपका खतराबारे पनि सचेत गराएको छ। नेपाल भूकम्प, बाढी र पहिरोको जोखिममा रहेको र मनसुनयाम (जुन–सेप्टेम्बर) मा भारी वर्षाले सडक अवरुद्ध हुन सक्ने, आपतकालीन उद्धारमा कठिनाइ आउन सक्ने चेतावनी समावेश गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*