१५ दिनमै आयल निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा

१८ चैत्र २०८२, बुधबार १४:३९

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो १५ दिनमा करिब ५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ। निगमका अनुसार पश्चिम एशियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा इन्धन आपूर्तिमा समस्या आएपछि यस्तो घाटा आएको हो।

कच्चा तेलको मूल्य बढेपछि निगमले इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको छ। तर, स्वचालित मूल्य समायोजन प्रणालीअनुसार खुद्रा मूल्य बढाउन नसक्दा घाटा अझ ठूलो भएको प्रवक्ता मनोज कुमार ठाकुरले बताए। उनका अनुसार निगमको मूल्य स्थिरीकरण कोषमा हाल १९ अर्ब रुपैयाँ रहेको छ र घाटा पूर्ति यही कोषबाट हुँदै आएको छ।

हालको मूल्य संरचनामा पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा कायम रहेको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले खुद्रा मूल्य यथावत राखेको छ। तर, हवाई इन्धनको मूल्य भने समायोजन गरिएको छ। सञ्चालक समितिको निर्णयअनुसार आन्तरिक उडानका लागि एटीएफको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट २५१ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलो लिटर ८१९ अमेरिकी डलरले बढेर १७८५ डलर, पोखरा र भैरहवामा पनि ब्रेक इभेन मूल्य कायम गरिएको छ।

भारत सरकारले व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य वृद्धि गरेको छ। दिल्लीमा १९ केजी क्षमताको सिलिन्डर १९५.५० भारुले बढेर २,०७८ भारु, ५ केजी एफटीएल सिलिन्डर ५१ भारुले बढेर ५४९ भारु पुगेको छ। कोलकातामा १९ केजी सिलिन्डरको मूल्य २१८ भारुले बढेको छ। तर, घरेलु प्रयोजनको १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य यथावत ९१३ भारु रहेको छ।

हर्मुज नाका बन्द र खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रमाथि भएको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको र यसको प्रभाव भारतसहित विश्वभर देखिएको छ। हवाई इन्धन (एटीएफ)को मूल्य पनि दिल्लीमा २,०७,३४१.२२ भारु प्रतिकिलो लिटर पुगेको छ।

निगमले इन्धन आपूर्ति प्रणाली सहज रहेको र देशभर पर्याप्त मौज्दात रहेको जानकारी दिँदै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*