रिलायन्स स्पिनिङ मिल्सको आईपीओ परेका लगानीकर्तालाई १ लाख ६ हजार रुपैयाँ नाफा

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ हात पार्ने लगानीकर्ताहरू उल्लेख्य नाफामा पुगेका छन् । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा जारी गरिएको उक्त आईपीओको शेयर मूल्य हाल प्रतिकित्ता २ हजार ९४७ रुपैयाँ २० पैसा पुगेपछि लगानीकर्ताहरू मालामाल भएका हुन् ।
कम्पनीले आईपीओ जारी गर्दा लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था गरेको थियो । सोअनुसार ५० कित्ता शेयर प्राप्त गर्ने लगानीकर्ताले सुरुवातमा ४१ हजार ४० रुपैयाँ लगानी गरेका थिए ।
आईपीओमा कुल १८ हजार ४९५ जनाले ५०।५० कित्ताका दरले शेयर पाएका थिए भने तीमध्ये १८ जनाले थप १।१ कित्ता गरी ५१ कित्ता हात पारेका थिए । हालको बजार मूल्यका आधारमा ५० कित्ता शेयर हुने लगानीकर्ताको कुल लगानी मूल्य बढेर १ लाख ४७ हजार ३६० रुपैयाँ पुगेको छ । यस आधारमा उनीहरूले करिब १ लाख ६ हजार ३२० रुपैयाँ नाफा आर्जन गरिसकेका छन् ।
आईपीओ परेपछि अहिलेसम्म शेयर बिक्री नगरी राख्ने लगानीकर्ताहरू लाखौँ रुपैयाँ नाफामा पुगेका छन् ।











