प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।
कम्पनीको नवौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।
कम्पनीले बूक क्लोज गरेको मिति पुस २१ गतेभन्दा अघिल्लो दिनसम्म कारोबार भई लिखतमा रहेको शेयरधनीको डिम्याट खातामा बोनस शेयर बापतको शेयर जम्मा गरिएको कम्पनीले जनाएको छ। कम्पनीको सोही वार्षिक साधारणसभाले पारित गरेको ४.४२१ प्रतिशत नगद लाभांश यसअघि नै सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइसकेको छ।
साथै पुस २० गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा बोनस शेयर ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएकोले ऋण चुक्ता भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न आग्रह गरेको छ।











