आजदेखि एसईई परीक्षा, एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी

१९ चैत्र २०८२, बिहीबार ०७:०५

काठमाडौं । आजदेखि शुरू भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउने गरी आवश्यक तयारी अघि बढाएको हो।

यसअघि एसईईको नतिजा सामान्यतया परीक्षा सकिएको करिब तीन महिनापछि सार्वजनिक हुँदै आएको थियो। तर यस वर्ष भने परीक्षा व्यवस्थापनसँगै उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई तीव्र बनाइने भएकाले छोटो समयमै नतिजा ल्याउने लक्ष्य राखिएको बोर्डले जनाएको छ।

गत वर्षको एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो भने नतिजा असार १३ गते मात्रै सार्वजनिक गरिएको थियो। त्यसबेला शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो शुरू भएकाले नतिजा प्रकाशन प्रक्रिया पनि प्रभावित भएको थियो। बोर्डले यस वर्ष त्यस्तो ढिलाइ नहोस् भन्ने उद्देश्यले परीक्षा सकिएलगत्तै मूल्यांकन प्रक्रिया शुरू गर्ने योजना बनाएको छ।

बोर्डका अनुसार यस वर्ष परीक्षा सञ्चालन भएकै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइँदैछ। यसले उत्तरपुस्तिका ढुवानी, व्यवस्थापन र परीक्षणमा लाग्ने समय घटाउने र नतिजा छिट्टै सार्वजनिक गर्न मद्दत पुग्नेछ। भौगोलिक विकटता वा प्राविधिक जटिलता भएका केही क्षेत्रका उत्तरपुस्तिका भने अन्य उपयुक्त केन्द्र वा वैकल्पिक स्थानमा लगेर परीक्षण गरिनेछ। यसका लागि आवश्यक कार्यविधि निर्माणबारे मन्त्रालयस्तरमा छलफल भइरहेको बोर्डले जनाएको छ।

आज चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा शुरू भएको छ। बोर्डका अनुसार यस वर्षको परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् तीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा र २ लाख ५४ हजार ८०१ जना छात्र रहेका छन्। परीक्षा व्यवस्थापनका लागि देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*