समस्याग्रस्त नेपाल शेयर मार्केट्स सम्हाल्न संयोजक खोज्दै राष्ट्र बैंक, १ लाख २६ हजार पारिश्रमिक

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पु-याउने उद्देश्यले संयोजक पदका लागि आवेदन खुला गरेको हो ।
व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गरिनेछ । इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी वैशाख ९ गतेभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
आवेदनका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव आवश्यक पर्ने जनाइएको छ ।
उक्त पदको सेवा अवधि एक वर्ष तोकिएको छ । संयोजकका लागि मासिक १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । यसका अतिरिक्त दशैं खर्च बराबरको भत्ता तथा वार्षिक १२ दिन विदाको सुविधा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
Notice-2082.12.18-1










