अस्थिरमै शेयर पुँजी बजारः कारोबार रकम समेत घट्यो, अर्थमन्त्रीको चासोले समेत किन गरेन काम ?

काठमाडौँ । शेयर बजारमा आज सामान्य सुधार आएको छ । पछिल्लो केही समयदेखि बजार निरन्तर अस्थिर रहेको छ । दिनभरको उतार–चढावपछि बजार अन्तिम समयमा सामान्य सुधार आएको हो ।
नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यभार सम्हालेपछि बजारमा प्रभाव सकारात्मक देखिएको छैन । वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अनुभवी व्यक्तिलाई स्वागत गर्ने आशा राखिएको भए पनि पदभार ग्रहणपछि उनले शेयर बजारमा कुनै स्पष्ट प्रतिक्रिया नजनाउँदा लगानीकर्तामा निराशा बढेको विश्लेषकहरूले बताएका छन् । सरकारको १०० दिने कार्यसूचीमा पनि पुँजी बजारसम्बन्धी नीति समावेश नभएकाले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन्। विगतमा अर्थमन्त्रीहरूले पदभार ग्रहणकै दिन बजारमा सकारात्मक संकेत दिने गरेको भए पनि वाग्लेको मौनताले बजारमा अनिश्चितता थपेको छ ।
आज अर्थमन्त्रीले बजार घट्नुको विषयमा चासो राखेका थिए । उनले बजार सुधारका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए । जसले लगानीकर्तामा थोरै भएपनि आशा र मनोबल बढाएको हो ।
अवैध लगानी नियन्त्रणका लागि लागू गरिएको नयाँ नीतिहरूले पनि बजारमा दबाब सिर्जना गरेको छ। बैंक खाताबाट हुने कारोबारको निगरानी, अवैध लगानी रोकथाम, र कानुनी कारबाहीको संकेतले केही ठूला लगानीकर्तालाई सतर्क बनाएको छ। सोही अन्तर्गत दीपक भट्ट को सम्पत्ति छानबिन सुरु भएको छ भने उनलाई आज सीआईबी ले पक्राउ गरेको छ। यसले बजारमा ठूलो बिक्री दबाब उत्पन्न गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८२ अकंले बढेर २७८२ं१८ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८१ करोडको कारोबार भएको हो ।
यसदिन ७ उपसूचक ओरालो लागेको छ भने ६ समूहको शेयर मूल्य बढेको हो ।
बिहिबार ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।












