संविधानमा राजसंस्था फर्काउन र हिन्दु राष्ट्र घोषणा गर्न संसदमा ज्ञानेन्द्र शाहीको माग

१९ चैत्र २०८२, बिहीबार १५:५८

काठमाडौं । ज्ञानेन्द्र शाहीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद शाहीले नेपाल कुनै एक दल वा नेताले नभई राजसंस्था र जनताले मिलेर निर्माण गरेको देश भएको दाबी गरे। उनले ‘यो देश कांग्रेस, एमाले, रास्वपा वा माओवादीले बनाएको होइन, राजसंस्था र जनताले बनाएको हो’ भन्दै संवैधानिक राजसंस्थाबारे पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले देशको धार्मिक संरचनाको उल्लेख गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट धर्मसापेक्ष ‘हिन्दु अधिराज्य’ घोषणा गर्न माग गरे। उनका अनुसार नेपालमा बहुसंख्यक जनता ॐकार परिवारमा आबद्ध रहेका छन्।

सांसद शाहीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता (एमसीसी) प्रति असन्तुष्टि जनाउँदै यसलाई खारेज गर्नुपर्ने बताए। उनले भूराजनीतिक सन्तुलन कायम राख्न पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। साथै छिमेकी राष्ट्रहरूको गतिविधिमाथि निगरानी बढाउन सीमावर्ती क्षेत्रमा नेपाली सेना परिचालन गर्नुपर्ने र संयुक्त राष्ट्रसंघमार्फत नेपालको सिमाना यकिन गर्नुपर्ने माग गरे।

देशको वर्तमान आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले ८० लाखभन्दा बढी युवा विदेशिन बाध्य भएको र रेमिट्यान्सकै भरमा अर्थतन्त्र टिकेको बताए।

त्यसैगरी उनले निर्मला पन्तदेखि इन्साफ बिकसम्मका घटनामा पीडितहरूले न्याय नपाएको उल्लेख गर्दै न्याय प्रणालीप्रति प्रश्न उठाए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*