विश्वशान्तिको सन्देश बोकेको ‘२१औं मैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम हेटौंडामा हुने

१९ चैत्र २०८२, बिहीबार १६:२८

काठमाडौं । ‘२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म अध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा आयोजना हुने भएको छ। कार्यक्रम आगामी चैत २६ देखि ३० गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको हो ।

कार्यक्रममार्फत सम्पूर्ण मानव समुदाय, सर्वजगत प्राणी तथा प्रकृतिलाई मैत्री भाव, शान्ति र सहअस्तित्वको सन्देश दिने उद्देश्य राखिएको छ। आयोजकले यसलाई विश्वशान्ति, आध्यात्मिक जागरण र मानवताको संरक्षणसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै सहभागी हुन सबैलाई आमन्त्रण गरेको छ।

आजको विश्व तीव्र प्रविधि र भौतिक प्रगतिमा अघि बढिरहे पनि मानव अन्तरमनमा असहिष्णुता, हिंसा र विभाजन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ। यस्तो अवस्थामा शान्ति, सत्य र शुद्धता केवल शब्दमा सीमित नराखी व्यवहारमा उतार्न आवश्यक रहेको आयोजकको भनाइ छ। मानवले लोभ, मोह, डाह, ईर्ष्या र अहंकार त्याग्न सके मात्र अहिंसा र सत्कर्ममार्फत वास्तविक शान्ति प्राप्त गर्न सकिने धारणा प्रस्तुत गरिएको छ।

मैत्रीनाथज्यूका अनुसार धर्म, भाषा, जात, देशलगायतका भेदभाव त्यागी मानवतालाई प्राथमिकता दिए मात्र विश्व शान्तितर्फ अघि बढ्न सक्छ। रिसलाई विष र मन्द मुस्कानलाई अमृतको रूपमा व्याख्या गर्दै उनले सहिष्णुता, करुणा र सम्मानको मार्ग अपनाउन आग्रह गरेका छन्।

आयोजकले विश्व समुदायसमक्ष द्वन्द्वभन्दा संवाद, घृणाभन्दा प्रेम, विभाजनभन्दा एकता रोज्न अपिल गरेको छ। साथै ‘म’ भन्दा ‘हामी’ भन्ने भावनाबाट आत्मिक परिवर्तन सुरु गर्नुपर्ने र व्यक्तिगत शान्ति नै विश्वशान्तिको आधार हुने उल्लेख गरिएको छ।

कार्यक्रममा मैत्री धर्मका ११ शीलसमेत प्रस्तुत गरिनेछ, जसमा कुनै पनि आधारमा भेदभाव नगर्ने, सबै धर्म र आस्थाको सम्मान गर्ने, असत्य र भ्रम फैलाउने कार्य त्याग्ने, हिंसाबाट टाढा रहने, सकारात्मक सोच र सेवा भाव अपनाउने लगायतका विषय समेटिएका छन्।

आयोजकका अनुसार सत्य, शुद्धता, इमान्दारिता, संयमता र धैर्यता कार्यक्रमका मूल उद्देश्य हुन् भने मैत्रीभावलाई यसको मुख्य शक्ति मानिएको छ। मानवतालाई नै साझा पहिचानका रूपमा स्थापित गर्दै विश्वमा दया, माया, करुणा र सहअस्तित्वको भावना विस्तार गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमको समापनमै आयोजकले पृथ्वी रहुन्जेलसम्म शान्ति, सहकार्य र मैत्रीयता कायम रहने विश्व निर्माणका लागि सबैलाई एकजुट हुन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*