मौसममा फेरबदल: पहाड र हिमालमा वर्षा, तराईमा हावाहुरीको जोखिम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली क्षेत्रका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको जनाइएको छ।
रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, तराई क्षेत्रका केही स्थानमा हावाहुरीको जोखिम कायमै रहने चेतावनी दिइएको छ।











