मालिका सामुदायिक वन उपभोक्ता समितिमा भ्रष्टाचार, अध्यक्ष सहित ५ जना विरुद्ध मुद्दा

२० चैत्र २०८२, शुक्रबार ११:१४

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिमा १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार समितिका अध्यक्ष अमर बहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री र सदस्य हरि प्रसाद अधिकारीले आपसी मिलेमतोमा समितिको रकम गैरकानुनी रूपमा खर्च गरी दुरुपयोग गरेको देखिएको हो। अनुसन्धानबाट उनीहरूले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा समितिको निर्णयबिनै रकम खर्च गरेको, बिल–भरपाईबिनै खर्च देखाएको र नक्कली कागजात तयार गरी भुक्तानी मिलाएको पाइएको छ।

आरोपपत्रमा कार्ययोजना नै नबनाई सडक निर्माणमा खर्च गरिएको उल्लेख गरिएको छ। यस्तै लेखापरीक्षण नै नभएको अवस्थामा लेखापरीक्षण शुल्क भुक्तानी गरिएको भनी कागजात तयार गरिएको, काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा दाखिला नगरिएको र नर्सरी व्यवस्थापनका नाममा प्रमाणबिनै रकम खर्च गरिएको पाइएको छ। यस्ता विभिन्न शीर्षकमा मात्रै ५ लाख १७ हजार ५०० रुपैयाँ खर्च देखाइएको उल्लेख छ।

अनुसन्धानका क्रममा वन समूहका पदाधिकारीहरू प्रतिवादी रहेको वन मुद्दासम्बन्धी कामका लागि अधिवक्तालाई समितिकै खाताबाट ३ लाख रुपैयाँ भुक्तानी गरिएको देखिएको छ। त्यसैगरी मुद्दा तथा साक्षी खर्चका नाममा २ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको, अध्यक्षले वीरेन्द्रनगर बसाइँका नाममा ४१ हजार १६२ रुपैयाँ लिएको, व्यक्तिगत जरिवाना तिर्न समितिको ५१ हजार ४८५ रुपैयाँ प्रयोग गरिएको र स्टिल दराज, मसलन्द तथा खाना–नास्ता लगायतका सामग्री खरिद गर्दा कानुनसम्मत बिल प्रमाणबिनै २३ हजार ३६५ रुपैयाँ खर्च गरिएको आरोपपत्रमा उल्लेख छ।

समितिका पदाधिकारीहरूले सामुदायिक वन उपभोक्ता समितिको सम्पत्ति बदनियतपूर्वक निजी स्वार्थमा प्रयोग गरेर भ्रष्टाचार गरेको निष्कर्ष सहित मुद्दा चलाएको हो। यस प्रकरणमा जम्मा १२ लाख १८ हजार ५१२ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारले जनाएको छ। अख्तियारले सदस्य हरि प्रसाद अधिकारीलाई २ लाख ८५ हजार रुपैयाँ बिगो कायम गरेको छ भने बाँकी सबै प्रतिवादीको हकमा १२ लाख १८ हजार ५१२ रुपैयाँ बिगो कायम गरी सोही अनुसार सजाय माग सहित मुद्दा चलाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*