श्रम कानुन उल्लङ्घन गर्ने दुई उद्योगको खाता रोक्का

काठमाडौं । श्रम तथा रोजगार कार्यालयले श्रम कानुन उल्लङ्घन गरेको दुई उद्योग-प्रतिष्ठानको खाता रोक्का गरेको छ। कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनको क्रममा उक्त कदम चालिएको हो।
कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार, विभिन्न होटल र उद्योग प्रतिष्ठानमा कार्यरत २० बालबालिकालाई उद्धार गरी उनीहरूका अभिभावकको जिम्मा लगाइएको छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदाताले २ लाख २५ हजार जरिवाना र २२ हजार क्षतिपूर्ति तिराएको कार्यालयले जनाएको छ।
प्रमुख साहका अनुसार अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको छ।
कार्यालयले यसै अवधिमा व्यक्तिगत र सामूहिक गरी ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फछ्र्योट गरेको छ। यी उजुरीमा होटल र साना उद्योगसहित कुल २६८ प्रतिष्ठान सूचीकृत छन्।











