धितोपत्र बोर्डले अनुसन्धान गरेकै मुद्दामा सन नेपाल लाइफका सीईओ पक्राउ, कहाँ चुक्यो सीआईबी ?

२० चैत्र २०८२, शुक्रबार १५:४६

काठमाडौं । बालेन नेतृत्वको नयाँ सरकार बनेपछि पनि नेपाल प्रहरी भित्रको सीआईबीको नियतमाथि चिन्ह उठ्ने गरी एउटा शेयर बाँडफाँड काण्डको छानबिन भइरहेको तथ्य फेला परेको छ । उच्च अदालत पाटनबाट खारेज भएको मुद्दा र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समेत छानबिन गरी त्रुटि सच्याइसकेको सन नेपाल लाइफको आईपीओ बाँडफाँड काण्डमा नेपाल प्रहरीको सीआईबीले कम्पनीका सीईओ राजकुमार अर्याललाई पक्राउ गरी छानबिन गरिरहेको खुलेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत छानबिन गरेर सच्याएको र उच्च अदालत पाटनमा पीडित भनिएकाहरूले दिएको रिट निवेदन दाबी नपुग्ने भन्दै खारेज भइसकेको अवस्थामा नेपाल प्रहरीले छानबिन भन्दै सीईओ राजकुमार अर्याललाई नै पक्राउ गरेर हिरासतमा कोचेको विषयभित्र निकै आश्चर्यजनक कुराहरू फेला परेका छन् ।

सन नेपाल लाइफले २०८० साउनमा कूल जारी पूँजी तीन अर्ब २० करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता शेयर सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आईपीओ जारी गरेर बिक्री गरेको थियो । २०८० साउन ३२ मा सो आईपीओ निष्काशन गरी भदौ १५ गतेका दिन बाँडफाँड गरिएको थियो ।

कुल ९६ लाख कित्ता शेयरको पाँच प्रतिशत कर्मचारीहरूका लागि वितरण गर्ने व्यवस्था अनुसार चार लाख ८० हजार कित्ता शेयर कर्मचारीहरूलाई बाँडफाँड गरिएको थियो । सो चार लाख ८० हजार कित्ता शेयर कर्मचारीहरूलाई बाँडफाँड पनि गरियो । सोही शेयर बाँडफाँड गर्दा शेयर लिन योग्यता नपुगेका केही कर्मचारीहरूलाई पनि शेयर दिनुपर्ने भयो । सञ्चालक समितिको बैठकले छ महीना अवधि नपुगेका तीन जना कर्मचारीहरूलाई पनि शेयर दिने गरी नयाँ भर्ना गरिएकोले उनीहरूको लागि पनि शेयर आरक्षण गर्नु पर्ने निर्णय गर्यो । सोही बमोजिम केही हजार कित्ता शेयर सीईओको नाममा राख्ने र पछि हस्तान्तरण गर्ने भनियो ।

तर उल्लेखित तीन जना कर्मचारीहरूले आईपीओ जारी भए लगत्तै जागीरबाटै राजीनामा दिए अनि शुरु भयो कानुनी झमेला । ती कर्मचारीहरूले आफूले पाउनु पर्ने शेयर दिन भन्दै निहु मात्रै खोजेनन् उच्च अदालत पाटनमा रिट दर्ता गरे । उच्च अदालत पाटनले २०८१ सालमा छ महीना अवधि नपुगेको र आईपीओ जारी गरे लगत्तै जागीर छोडेको र आईपीओको शेयरको लाभ लिने गलत मनसायले कम्पनीमा जागीर खान आएको भन्दै रिट नै खारेज गरिदियो ।

उच्च अदालतले रिट खारेज गरिदिएपछि उनीहरूले नेपाल धितोपत्र बोर्डमा उजुरी गरे । नेपाल धितोपत्र बोर्डले छानबिन गर्दा सीईओको नाममा बढी शेयर रहेको फेला पर्यो । सीईओको नाममा राखिएको शेयर जागीर छोडेका कर्मचारीहरूलाई वितरण गर्न मिलेन र पुनः यसरी बाँडफाँड गरी जानकारी दिनु भनि लिखित निर्देशन नै दियो ।

नियामक धितोपत्र बोर्डको निर्देशन अनुसार सीईओ अर्यालले पुनः बाँकी रहेको शेयर कर्मचारीहरूलाई बाँडफाँड गरी वितरण गरिदिए र जानकारी पनि गराए । उक्त घटना त्यही सकियो ।

अब ती जागीर छोडेका कर्मचारीहरूले नेपाल धितोपत्र बोर्डलाई प्रभावमा पारेर उक्त अनुसन्धान फाइल सीआईबीमा पठाउन चर्को दबाब दिए । सो कार्यमा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्य प्रसाद सिलावलले समेत भूमिका खलेको थिए । सिलवालले वैदेशिक रोजगार म्यादीलाई बीमा पुलमा लैजान चाहेका थिए । तर सन नेपाल लाइफका सीईओ अर्यालसहितले ईसेवासँग मिलेर वैदेशिक रोजगार विभागसँगको सहकार्यमा नयाँ सफ्टवेयर विकास गरेका थिए । अर्यालले उनको कार्यमा असहयोग गरेको भन्दै अर्यालका विरुद्धमा तीन केटाहरूलाई प्रयोग गरे र धितोपत्र बोर्डमा सेटिङ हानेर अर्यालको विषय सीआईबीमा पठाउन लगाएका थिए ।

कहाँ चुक्यो सीआईबी ?
गहन अध्ययनमा माहिर मानिएको नेपाल प्रहरीको सीआईबी यो घटनामा भने चुकेको छ । अदालतबाट समेत दाबी नपुग्ने भनेर मुद्दा नै खारेज गरिदिएको घटनामा हठात सीईओ पक्राउ गर्नु सीआईबीले अधिकार दुरुपयोग गरेको रूपमा बीमा क्षेत्रमा व्यापक चर्चा भइरहेको छ । रोचक कुरा के छ भने सीआईबीले सीईओलाई पक्राउ गरेपछि मात्रै घटनाको अनुसन्धान सुरु गरेको पाइएको छ । सिईओ पक्राउ गरेको पाँच दिनसम्म उनीसँग बयान समेत नलिएको खुलेको छ । सीआईबी स्रोतका अनुसार शुक्रबार बिहानसम्म सीआईबीले बयान लिएको छैन । कम्पनीका कर्मचारीहरूसँग बयान लिने कार्य गरिरहेको छ ।

सार्वजनिक निकायमा काम गरिरहेका सीईओ भाग्ने अवस्थामा थिएनन् । सीईओ अर्यालले उक्त शेयर बिक्री गरेका समेत छैनन् । किनभने सीईओले आफू उक्त कम्पनीमा कार्यरत रहँदासम्म शेयर बिक्री गर्नै पाउँदैनन् । अन्य फौजदारी अपराध नभएको र आईपीओको शेयर बाँडफाँडमा आशंका लागेको अवस्थामा निजको शेयर रोक्का राखेर समेत छानबिन गर्न सकिने अवस्था हुँदा हुँदै सिधै पक्राउ गरेर हिरासतमै थुन्नुको नियतलाई कसरी बुझ्ने प्रश्न उठेको छ । भोलि पावर दुरुपयोग गरेको विषयमा उठेको अवस्थामा सो प्रश्नको जवाफ कसले दिन्छ ? शेयर नपाएको झोंकमा पूर्व कर्मचारीहरूले रास्वपाका नेताहरूको पावर दुरुपयोग गरेर सीआईबीलाई फसाउन खोजिएको त होइन ? प्रश्न उठेको छ ।

नेपाल प्रहरीको सीआईबीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डले प्रारम्भिक रूपमा अनुसन्धान गरिसकेको स्वीकार गर्दै थप अनुसन्धान गर्न पत्राचार गरेकोले सीआईबीले सीईओ अर्याललाई पक्राउ गरेर अनुसन्धान गरिएको बताए । साथै सीआईबीले सीईओ अर्यालले एउटै कागज फरक फरक निकायमा फरक फरक पारेर पत्राचार गरेको भेटिएकोबारे थप र विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । हाल अनुसन्धानकै क्रममा रहेकोले कतिपय कुरा सीआईबीले पनि खुलाउन चाहेको छैन । अदालतबाट आदेश भएको वा नभएको पनि अनुसन्धान हुने सीआईबीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*