ललितपुरको नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ

काठमाडौं । ललितपुरस्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने बिचौलियामाथि प्रहरीले कारबाही तीव्र पारेको छ। यस क्रममा ३२ जना बिचौलिया पक्राउ परेका छन्।
ललितपुरको लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा सेवा प्रक्रियामा अवरोध सिर्जना गर्दै आएका बिचौलियाहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त टोलीले नापी कार्यालय क्षेत्रबाट २१ जना र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट ११ जना गरी कुल ३२ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ती बिचौलियाहरूले सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा अनावश्यक शुल्क असुल्ने तथा सेवा प्रवाहमा अवरोध गर्ने गतिविधि गर्दै आएका थिए।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।











