एशियन लाइफ इन्स्योरेन्स १९औं वर्षमा प्रवेश, सेवा विस्तार र विश्वासको प्रतिबद्धता

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । उन्नाइसौं वर्ष प्रवेशको उपलक्ष्यमा २०८२ चैत्र २० गतेदेखि सप्ताहव्यापीरुपमा देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना भइरहेको छ ।
वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै चैत २० गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । यसैगरी किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरबाट ६६ जना लाभान्वित भएका छन् ।
साथै देशभरका विभिन्न १०२ वटा शाखा, उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत सामाग्री वितरण गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा चैत २० गते आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पुयाउँदै आएका सम्पूर्ण शुभेच्छुकहरुमा आभार व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गरे ।
सो अवसरमा कम्पनीको सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तथा प्रधान कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यस कम्पनीको चालू आर्थिक वर्ष २०८२।८३ को फागुनसम्ममा जीवन बीमाकोष ५० अर्ब ८५ लाख, कूल लगानी ५० अर्ब ४५ करोड रहेको छ । यसैगरी, कम्पनीले फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ६७ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ । पुष मसान्तसम्ममा यस कम्पनीको सकृय बीमालेख संख्या ७ लाख ५३ हजार रहेको छ चालू आवमा फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ६ अर्ब ५२ करोड आर्जन गरेको छ । अधिकृत पूंजी रु ६ अर्ब रहेको यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड १२ लाख (५ प्रतिशत बोनश शेयर सूचीकृत पश्चात् कायम हुने) रहेको छ ।











