स्नो रिभर्सको स्थानीयलाई खुलाइएको आईपीओ आज बन्द हुने

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको साधारण शेयरमा मागभन्दा बढी आवेदन परेपछि आज चैत २३ गते बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गरिने जनाएको छ।
स्नो रिभर्सले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको छ। त्यसमध्ये १० प्रतिशत बराबर ९ करोड ३७ लाख ५० हजार रुपैयाँ मूल्यको ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको हो।
यसमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ५० प्रतिशत अर्थात् ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर छुट्याइएको छ। बाँकी ५० प्रतिशत अर्थात् ४ लाख ६८ हजार ७५० कित्ता शेयर भने ताप्लेजुङ जिल्लाकै सिरिजङ्गा गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७, सिदिङ्वा गाउँपालिकाका वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाका वडा नम्बर ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त शेयर चैत ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको हो। स्थानीय बासिन्दाले यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।











