अर्थमन्त्रीको सम्बोधनले पुँजी बजारमा रौनकः ११ अर्बको कारोबार, कहिले आउला सर्प्राइज ?

काठमाडौँ । सोमबार शेयर बजारमा हरियाली देखाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजार सम्बन्धमा पहिलोपटक विस्तृत अभिव्यक्ति दिएसँगै बजारमा हरियाली छाएको हो ।
अर्थमन्त्री बनेदेखि शेयर बजारमा सम्बन्धी मुद्धामा मौन रहेका वाग्लेले पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने गरी अभिब्यक्ति दिएसँगै बजारमा रौनक देखिएको हो । लगानीकर्ताको विश्वास फेरि फर्किन थालेको छ । विश्लेषकहरूले बजारमा आएको सुधारलाई अर्थमन्त्रीको स्पष्ट नीति र लगानीकर्तालाई आश्वस्त पार्ने शैलीसँग जोड्दै व्याख्या गरेका छन् । केही व्यवसायीहरूमा सञ्चालन र नियमनको कडाइका कारण बजारमा डर सिर्जना भएको थियो । सोहि डरमा लगानीकर्ताले अर्थमन्त्रीको साथ खोजि रहेका थिए । मौन रहेको अर्थमन्त्री बोलेसँगै बजारमा आकर्षक सुधार देखिएको हो ।
गिरावटलाई विशेषगरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइले प्रभाव पारेको थियो । अवैध लगानी नियन्त्रण गर्न ल्याइएका नीतिहरू आफैंमा आवश्यक र सकारात्मक भए पनि त्यसको कार्यान्वयन शैलीले बजारमा त्रास सिर्जना गरेको देखिन्छ । बैंकिङ कारोबारमा कडाइ, निगरानीको विस्तार र कानुनी कारबाहीको संकेतले ठूला लगानीकर्तालाई सतर्क भई बजारबाट बाहिरिदा भारी गिरावट आएको थियो । यसैबीच केही व्यवसायीहरू पक्राउ पर्दा लगानीकर्ता थप त्रसित भएका थिए । यस्तो राताम्य यात्रापछि अर्थमन्त्री बोलेसँगै लगानीकर्ताको मनोबल सुधार भएको छ ।
सबै नीति सकारात्मक रहेको हुँदा अब सरकारको साथ पाए बजारले नयाँ उचाई कायम राख्ने विश्वास लगानीकर्ताहरुको छ । अर्थमन्त्री वाग्लेले शेयर बजारमा विषयमा आफुले काम गरी रहेको बताउँदै छिट्टै देख्न पाउने बताइरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८३.३३ अकंले बढेर २७६०.०२ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको २ करोड ५१ लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९२ करोडको कोरोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ३.१८ प्रतिशत, विकास बैंक समूहको ३.६३ प्रतिशत, फाइनान्स समूहको ४.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सोमबार २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ ।












