महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

२४ चैत्र २०८२, मंगलवार ०६:४८

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहका दुई जना शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकताका दिंदै शेयर बिक्रीमा राखेको छ।

कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता संस्थापक शेयर र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता संस्थापक शेयर बिक्रीका राखेको छ। सर्वप्रथम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई उक्त शेयर खरिदका लागि प्राथमिकता दिई शेयर बिक्रीमा राखिएको हो।

कम्पनीका कुनै संस्थापक शेयरधनीलाई उक्त शेयर खरिद गर्न इच्छा भएमा आगामी ३५ दिनभित्र आवश्यक कागजात र प्रमाणसहित निवेदन दिन सकिनेछ। यस्तो निवेदन महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोक वा शेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, कमलादी, काठमाडौंमा पेश गर्न सकिनेछ।

निवेदन दिँदा आफूले खरिद गर्न चाहेको शेयर कित्ता संख्या स्पष्ट रूपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ। बिक्रीमा राखिएको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि निवेदन दिने संस्थापक शेयरधनीले ७१५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ।

तोकिएको ३५ दिने अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नआएमा प्रचलित कानुन तथा नियमानुसार उक्त शेयर संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*